• Jun 17, 2024 03:26 PM
  • ट्रेन्डिङ समाचार

चौंरीदेउराली सरकारकाे गाउँसभाः यी हुन मुख्य प्राथमिकताहरु

चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाको १२ औं गाउँ अधिवेशन प्रारम्भ भएको छ । शनिबार गाउँपालिकाको सभा हलमा एक समारोहका बीच गाउँपालिकाको अधिवेशन प्रारम्भ भएको हो ।

गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले आर्थिक वर्ष २०८०÷०८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । समृद्धि गाउँपालिका निर्माणको लागि नीति तथा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष चौंलागाईंले दावी गरेका छन् । नीति तथा कार्यक्रममा भैतिक पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, शुसासन लगायतका विषयमा जोड दिएको छ ।

भ्रष्टचार, अनियमिततामा शुन्य सहनशिलता अपनाउने नीति तथा कार्यक्रममा उल्लेख छ भने कृषिमा आधुनिकीकरण देखि व्यवसायीकरण गर्नेसम्मको योजना नीति तथा कार्यक्रमम समावेश छ । ‘उत्कृष्ट शैक्षिक गन्तव्यको लागि चौंरीदेउराली’ भन्ने मूल नारा सहित शैक्षिक विकासमा जोड दिएको छ भने युवा उद्यमशिलता विकासका कार्यक्रमहरु मार्फत युवालाई ‘विदेश हैन व्यापार” भन्ने भावना जागृत तुल्याई युवा लक्षित कार्यक्रम ल्याइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

शिक्षा सम्बन्धी नीति

चौैरीदेउराली गाउँपालिकाले ‘उत्कृष्ट शैक्षिक गन्तव्यका लागि चौंरीदेउराली’ भन्ने नारा नै तयार गरेर शिक्षालाई जीवनोपयोगी बनाउँदै लैजाने नीति लिएको छ । यसको लागि विभिन्न कार्यक्रमहरु समेत अघि बढाउने जनाएको छ ।

गाउँपालिकाले ३ वर्ष भित्र गाउँपालिका भित्रका विद्यालयहरुलाई आवासीय विद्यालयको रुपमा विकास गर्न पहल गरिने नीति लिएको छ ।

कम्तिमा महिनाको एक पटक जनप्रतिनिधिहरु विद्यालयको अवलोकन गर्न जाने तथा विद्यार्थी, शिक्षक र अभिभावकसँग छलफल गर्ने प्रणालीको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै विद्यालय बाहिर रहेका बीच मै विद्यालय छोड्ने बालबालिकाहरुलाई विद्यालय शिक्षा पुरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन गरिने भएको छ ।

यसैबीच अध्यक्ष चौंलागाईंद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा ‘एक विद्यालय एक उत्पादन’ कार्यक्रम अगाडि सार्दै विद्यार्थीलाई श्रमसँग जोडिने उल्लेख छ ।

स्वास्थ्य

नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पनि महत्वका साथ अघि बढाउने उल्लेख छ । जनताको विगतको कतिपय विगतको नीतिहरुलाई निरन्तरता दिएको छ भने कतिपय परस्कृत गरेर लैजाने नीति लिएको छ ।

नागरिकको पहुँच सुनिश्चित हुने गरी गाउँपालिका क्षेत्र भित्र चिकित्सकीय र प्रयोगशाला सेवा तथा अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, आधारभूत स्वास्थ्य केन्द्र स्थापना तथा स्तरोन्नति गरी रोकथाम निदान र पुनस्र्थापन सेवालाई सहज र नियमित बनाइने नीति तथा कार्यक्रममा छ ।

बर्थिङ्ग सेन्टर र स्वास्थ संस्थाहरुको सेवालाई स्तरोन्नति गरिने, नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी रक्त सञ्चार सेवालाई सहज तुल्याइने गाउँपालिकाको बर्थिङ सेन्टर र अस्पतालमा सुत्केरी हुने यस गाउँपालिका भित्रका महिलाको लागि एम्बुलेन्स सेवा निःशुल्क गरिने लगायतका कार्यक्रम रहेको छ ।

गाउँपालिकालाई औद्योगिकरण गर्ने

गाउँपालिकालाई औद्योगिकरण गर्न विभिन्न तयारीहरु गर्ने नीति लिएको छ । त्यसको लागि औधोगिक तथा ब्यावसायिक विकासका लागि सम्भाव्यता अध्ययन गरिने, सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार औधोगिक ग्राम पूर्वाधार निर्माण कार्यको थालनी गरिने, उद्योग व्यवसाय दर्ता, नवीकरण, स्थानान्तरण तथा नामसारी जस्ता प्रशासनिक प्रकृयालाई सूचना प्रविधिको प्रयोग गरी सरलीकरण र प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

र्यटन विकासमा जोड

नीति तथा कार्यक्रममा पर्यटन विकासलाई जोड दिइ आर्थिक उपार्जनको लागि वातावरण निर्माण गर्ने उल्लेखछ । यसको लागि प्रचार प्रसारदेखि पूर्वाधार निर्माणसम्मको विषय यसमा समेट्न खोजिएको छ ।

मुख्य स्थान चोक र गाउँपालिका प्रवेशद्वारहरुमा पर्यटकीय क्षेत्रको परिचय सहित पर्यटक आकर्षण गर्न डिस्लप्ले बोर्ड राखिने, गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि डकुमेन्ट्री प्रसारण र ब्रोशर विकास गरिने, अन्य स्थानीय तहहरुका असल अभ्यासलाई अनुशरण गरी पर्यटन प्रवद्र्धन गर्न थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गाउँपालिका र नगरपालिकासँग भगिनी सम्बन्ध विस्तार गर्न पहल गरिने लगायतको विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

कृषिमा कृषकका पहुँच बढाउने कार्यक्रम

कृषि क्षेत्रलाई गाउँपालिकाले विगतमा झैं यो आर्थिक वर्षमा पनि महत्व दिएको छ । कृषकहरुलाई प्राविधिक सेवाको पहुँच सरल र सहज बनाउन प्रत्येक वडामा प्राविधिक सेवालाई निरन्तरता दिइएको छ भने वडा सेवा केन्द्रवाट नै अत्यावश्यक पशु र वाली विरुवाको लागि अति आवश्यक औषधी उपलब्ध गराइने र कृषकको पहुँच विस्तारको लागि टोल टोलमा कृषि र पशु स्वास्थ्य सम्बन्धी घुम्ति शिविर संचालन गरिने नीति लिएको छ ।

त्यसैगरि फलफुल, तरकारी तथा अन्नबालीहरुको पकेट क्षेत्रहरु पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गरी ती स्थानहरुमा ब्यावसायिक कृषि पकेट क्षेत्र निर्धारण गरिने, रैथाने बालीहरुको वीउ संरक्षण, खेती विस्तार र बजारीकरणको लागि विशेष प्रबन्ध मिलाइने, दुग्ध संकलन केन्द्र स्थापनाको लागि पहल गरी दुध उत्पादन गर्ने कृषकलाई प्रति लिटर रु २ का दरले अनुदान दिन बजेट व्यवस्था गरिने भएको छ ।

गाउँपालिकाले सहकारी मार्फत किसानहरुलाई वितरण गरिने मलको लागि सदरमुकाम देखि प्रत्येक वडासम्म ढुवानी भाडा गाउँपालिकाले व्यहोर्ने व्यवस्थालाई निरन्तरता दिइ जनगुनासो रोक्न प्रभावकारी अनुगमन समेत गरिने नीति लिएको छ ।

पशुपालक किसानहरुलाई व्यवसायीकरण गर्ने नीति

पशुपालक किसानहरुलाई व्यवसायीकरण गर्न गाउँपालिकाले विभिन्न नीति लिएको जनाएको छ । पशुधन बीमा कार्यक्रमलाई विगतदेखि नै गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने ब्यवस्था गर्दै आएको तर प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेको हुँदा यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जोड दिइने, बाख्रापालनलाई थप उत्पादनमुखी बनाउनका लागि बाखा पकेट क्षेत्रलाई विस्तार गर्ने र उन्नत जातका बोका पाठीहरू उत्पादन गर्ने कार्यलाई प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई मासिक ३ हजार

जनयुद्ध र जन आन्दोलनका शहिद तथा बेपत्ता पारिका परिवारलाई मासिक ३ हजार रुपैयाँ वितरण गरिने भएको छ । ‘जनयुद्ध जनआन्दोलनका शहिद तथा वेपत्ता पारिएका परिवारहरुलाई मासिक रुपमा राहत स्वरुप दिदै आएको रु. ३०००।– लाई निरन्तरता गरिनेछ ।’ नीति तथा कार्यक्रममा भनिएको छ ।

पूर्वाधार विकासमा ‘आयोजना बैंक’ तयार गर्ने

अध्यक्ष चौंलागाईंले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा आयोजना बैंक तयार गर्ने उल्लेख छ । पूर्वाधार निर्माणका आयोजनाहरु संचालन गर्दा लागत लाभ विश्लेषणका आधारमा उच्च नतिजा एवम् प्रतिफल दिने, समतामूलक विकासको आधारको रुपमा रहने, पिछडिएका र कम विकास भएको क्षेत्रलाई मूल प्रवाहीकरणमा ल्याउन सहयोग गर्ने आयोजनाहरु पहिचान गरी ‘आयोजना बैंक’ तयार गरिने र सो बैंकमा समाविष्ट आयोजनाहरुमा मात्र बजेट विनियोजन गर्ने नीति लिइने जनाएको छ।

त्यसैगरि गाउँपालिका भित्र बाटो सडक निर्माणमा दीर्घकालीन लगानी मार्ग दर्शनका लागि गाउँपालिकाको सडक गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइने, गाउँपालिकाको विकासमा रुपान्तरणकारी परिवर्तन ल्याउन सक्ने केहि ठुला आयोजनाहरु पहिचान गरी गाउँपालिकाको गौरव आयोजनाका रुपमा कार्यान्वयन गरिने र त्यस्ता आयोजनामा श्रोतको अभाव हुन नदिनको लागि संघ र प्रदेश सरकारसंग आवश्यक समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘अध्यक्षसँग गृहिणी महिला’

आगामी आर्थिक वर्षमा ‘अध्यक्षसँग गृहिणी महिला’ कार्यक्रमलाई अघि सारेको छ । ‘अध्यक्षसँग गृहिणी महिला’ कार्यक्रम संचालन गरी पिछडिएका महिलाहरुको पहुँचलाई सुनिश्चितता गर्न आवश्यक व्यवस्था मिलाईने छ ।‘ नीति तथा कार्यक्रममा उल्लेख छ ।

Leave a Comment